काठमाडौँ। कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि आयोजना बैंक सञ्चालनको प्रक्रिया सुरु गरेको छ । यो आयोजना बैंक सुरु भएमा प्रदेशमा व्यवस्थित रूपले योजनाहरू कार्यान्वयनमा जाने कोशी प्रदेश सरकारले विश्वास लिएको जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा चर्को आलोचना खेप्नु परेको र त्यसलाई थितिमा बाँधेर काम गर्न आयोजना आवश्यकता परेको बताए । उनले आयोजना बैंकमार्फत योजनाहरू ल्याउनका लागि प्रदेश योजना आयोगलाई जिम्मेवार र बलियो बनाएर लैजाने बताए ।
कोशी प्रदेश आयोजना बैंक कार्यविधि २०८१को मस्यौदालाई सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले विकास निर्माणलाई व्यवस्थित र दीर्घकालीन बनाउन कालागि आयोजनाहरू छनोटको विधिसम्मत बनाउन आयोजना बैंक चाहिएको स्पष्ट पारे । उनले भने, ‘हामीलाई थितिमा बाँध्न पनि यो चाहिन्छ । यसले हामीलाई पारदर्शी बनाउने र असारमा मन्त्रालय धाउनेले बजेट पाउने परम्परा पनि अन्त्य हुन्छ ।’
प्रदेश सरकारले जिल्लामा गएर स्थानीय तह र सरोकारवालासँग छलफल गरेर योजनाहरू बनाउने र त्यसलाई आयोजना बैंकमा राख्ने गरी मस्यौदामा व्यवस्था गरिएको छ । आयोजना बैंकमा आयोजना माग गर्न पुसबाट विभिन्न चरणमा सूचना आव्हान गर्ने, माग दर्ता गर्ने, योजनाको पहिचान गर्ने र वैशाख १५ सम्म आयोजना बैंकमा प्रविष्टि गर्ने गरी तालिका बनाएर बैंकले काम गर्ने छ ।
आयोजना बैंकमा समावेश हुने पूर्वाधार विकासका ५० लाख रुपैयाँ देखि माथिका योजना समावेश गर्ने नीति सरकारको छ । सरकारले सडक तथा पुलको न्यूनतम २ करोडको, पर्यटन प्रवर्द्धन सम्बन्धी पूर्वाधारमा १ करोड, धार्मिक, सांस्कृतिक क्षेत्रको पूर्वाधार, झोलुंगे पुल, सिँचाइ लगायतका आयोजनाको ५० लाख रुपैयाँसम्मको योजनालाई आयोजना बैंकमा समेट्ने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपालले बताएका छन् ।