काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत शाखा अधिकृत वा सो सरहका पदहरूको बढुवा र खुला विज्ञापनमा सम्बन्धित बाँकी प्रक्रिया यथास्थितिमा राखिएको जनाएको छ।
आयोगले २०८१ मंसिर २६ मा प्रकाशित सूचना नम्बर ६७१.०८१-८२ अन्तर्गत बढुवा सूचना नम्बर १७०.०८१-८२ र सूचना नम्बर ६७२.०८१-८२ अन्तर्गत खुला तर्फका विज्ञापन नम्बर १६७०१ देखि १६७०७.०८१-८२ सम्मका पदहरूमा दरखास्त दिने प्रक्रिया सम्पन्न भएको भए पनि बाँकी काम कारबाही हाललाई स्थगन गरिएको जनाएको छ ।
यो निर्णय सम्मानित उच्च अदालत पाटनबाट २०८१ पौष १९ मा प्राप्त आदेशका आधारमा गरिएको हो। अदालतको आदेश अनुसार, सो पदहरूसँग सम्बन्धित निवेदनहरूको अन्तिम टुंगो नलागेसम्म वा अदालतले अन्यथा आदेश जारी नगरेसम्म बाँकी प्रक्रिया अघि नबढाउन भनिएको छ।
आयोगले बिहीबार सूचना प्रकाशन गर्दै, अदालतबाट प्राप्त आदेशका आधारमा मात्र बाँकी प्रक्रिया अघि बढाइने जनाएको छ। यस निर्णयले शाखा अधिकृत पदमा आवेदन दिएका उम्मेदवारहरूकाबीच अन्यौलता सिर्जना गरेको छ भने आयोगले कानुनी प्रक्रिया पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।