काठमाडौँ । चन्द्रनगर गाउँपालिकामा २०८१ भदौ २३ मा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले तीन महिनामै गाउँपालिकामा आर्थिक अनियमितता र मनोमानी गरेको आरोप खेपिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत पालले आर्थिक आतंक मच्चाएको, नियम विपरीत खरिद र निकासा गरेको र व्यक्तिगत स्वार्थका लागि कार्यालयका स्रोत साधनको चरम दुरुपयोग गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको आरोप छ ।
अध्यक्ष महतोले पालमाथि नियम विपरीत अनावश्यक भ्रमण खर्च, इन्धनको जथाभाबी प्रयोग, निजी डेराका लागि फर्निचर र अन्य सामग्री खरिद र गाउँपालिकाको बजेट निजी फाइदाका लागि प्रयोग गरेको गम्भीर आरोप लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत पालले भने यी सबै आरोप अस्वीकार गर्दै अध्यक्षलाई ‘व्यक्तिगत स्वार्थ’का कारण आरोप लगाएको बताएका छन् ।
नियम विपरीतका खर्च र दुरुपयोग
प्रमुख प्रशासकीय अधिकृत पालले दुई महिनाभित्रै करिब दुई लाख रुपैयाँ भ्रमण खर्च निकासा गरेको अध्यक्षको भनाई छ । कानुनी प्रक्रिया अनुसार जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको भ्रमण आदेश गाउँपालिका अध्यक्षले स्वीकृत गर्नुपर्ने भए पनि पालले आफैँ भ्रमण आदेश तयार गरेर बजेट निकासा गरेका हुन् ।
यस्तै, पालमाथि इन्धनको जथाभाबी प्रयोग र दुरुपयोग गरेको आरोप छ । असोज महिनामा मात्र उनले आफ्नै नाममा र आफूले ल्याएका सहयोगी दिलीप पण्डितको नाममा १४८ लिटर डिजेल र १०० लिटर पेट्रोल खर्च गरेको अध्यक्ष महतोको भनाई छ । मंसिर महिनामा यो संख्या बढेर २७० लिटर डिजेल र १९ लिटर पेट्रोल पुगेको छ । इन्धनको यो अत्यधिक खर्च गाउँपालिकाको बजेट दुरुपयोगको स्पष्ट प्रमाण भएको अध्यक्ष महतो बताउँछन् ।
निजी डेराका लागि बजेटको दुरुपयोग
प्रमुख प्रशासकीय अधिकृत पालले आफ्नो निजी डेराका लागि फर्निचर, डेकोरेसन सामग्री र अन्य सामान खरिद गरी पाँच लाखभन्दा बढी रकम निकासा गर्न दबाब दिएको आरोप छ । पालले लालबन्दीमा मासिक २५ हजार रुपैयाँमा निजी कोठा भाडामा लिएर त्यसको सजावटका लागि गाउँपालिकाको बजेट प्रयोग गरेका छन् । अध्यक्ष महतोका अनुसार, पालले निजी स्वार्थका लागि बजेट निकासा नगरे गाउँपालिकाका अन्य कामहरू रोकिने धम्की दिएका छन् ।
चन्द्रनगर गाउँपालिकाका अधिकृत पालले लालबन्दीमा आफ्नो निजी डेराका लागि पाँच लाखभन्दा बढीको फर्निचर र डेकोरेसन सामग्री खरिद गरेका छन् । यसै क्रममा उनले “मेशिनरी औजार” शीर्षकमा विनियोजित १० लाख रुपैयाँ बजेटबाट दुई वटा ल्यापटप र दुई वटा प्रिन्टर खरिद गरेर त्यसको भुक्तानीका लागि चरम दबाब दिएको बताइएको छ । ल्यापटप र प्रिन्टर खरिद गर्दा कार्यालयमा कुनै समन्वय नगरी आफ्नो निजी आवश्यकताका लागि बजेटको प्रयोग गरिएको अध्यक्ष महतो बताउँछन् । यी उपकरणहरूको भुक्तानी रोक्दा पालले गाउँपालिकाका अन्य जरुरी कामको भुक्तानीसमेत अवरुद्ध गरेको उनको भनाई छ ।
कार्यक्रम र परियोजनामा बाधा
गाउँपालिकाको कार्यसम्पादनमा गम्भीर असर परेको अध्यक्ष महतो बताउँछन् । विद्यालयका लागि स्वयंसेवी शिक्षकको भर्ना, दिवा खाजा कार्यक्रमका लागि बजेट निकासा, पोखरी व्यवस्थापन र कृषि विद्युतीकरणका लागि टेन्डर प्रक्रिया रोकिएको छ । यी महत्त्वपूर्ण कार्यहरू पालले आलटाल गरेर जनताको हित विपरीत काम गरिरहेको अध्यक्ष महतोको दाबी छ ।
अध्यक्ष महतोले भने, “प्रमुख प्रशासकीय अधिकृत पालले गाउँपालिकाको बजेटलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग गरेका छन् । म उनले गरेका अनियमिततालाई रोक्न आफ्नो दायित्वअनुसार काम गरिरहेको छु । तर, उनले जनप्रतिनिधिहरूलाई भड्काएर गाउँपालिकामा अराजकता फैलाउने प्रयास गरेका छन् । पाललाई तुरुन्तै सरुवा गरी गाउँपालिकालाई बचाउनुपर्छ ।”
चन्द्रनगर गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूले कार्यक्रम सञ्चालनका लागि लिएको लाखौँ रुपैयाँ पेस्की रकम प्रमुख प्रशासकीय अधिकृत पालले दुई महिनाभन्दा बढी समयसम्म आफ्नो व्यक्तिगत कामका लागि प्रयोग गरेको र कर्मचारीहरूले कार्यक्रमका लागि छुट्याइएको ११ लाख १५ हजार रुपैयाँ फिर्ता माग्दा पनि पालले आलटाल गरेको अध्यक्ष महतोको भनाई छ । कार्यक्रम सञ्चालनमा बाधा पुगेको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको प्रतिवाद
प्रमुख प्रशासकीय अधिकृत पालले यी सबै आरोपलाई अस्वीकार गर्दै भनेका छन्, “म यहाँ आउँदा अध्यक्षकै आग्रहमा आएको थिएँ । तर, अहिले आफ्ना स्वार्थ पूरा नभएपछि मलाई दोषी देखाउन खोजिएको छ । म गाउँपालिकाको काम गर्न आएको हुँ र जनताको सेवा मेरो पहिलो दायित्व हो ।”
पालले थपे, “फर्निचर र सामग्री आवश्यकता अनुसार खरिद गरिएको हो । इन्धन र भ्रमण खर्च पनि कानुनी प्रक्रिया अनुसारै भएको छ । अध्यक्षज्यूले आफ्ना निर्णयहरू जबरजस्ती लागू गर्न खोज्नु भएको छ, जसले समस्या उत्पन्न भएको हो ।”
राजनीतिक गुटबन्दीको आरोप
अध्यक्ष महतोले पालमाथि गाउँपालिकामा राजनीतिक गुटबन्दी गरेर जनप्रतिनिधिहरूलाई भड्काउने र गाउँपालिकाको हित विपरीत गतिविधि गर्न उक्साएको आरोप लगाएका छन् । पालले भने यो आरोप अस्वीकार गर्दै सबैसँग मिलेर काम गर्न खोजेको बताए । “अध्यक्षले अरू पार्टीका मानिसहरूसँग नबोल्न निर्देशन दिनु हुन्छ, तर म सबैसँग काम गर्न तयार छु। यो मेरो जिम्मेवारी हो,” पालले भने ।
निष्कर्ष
चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षबिचको यो आरोप–प्रत्यारोपले स्थानीय प्रशासनलाई अस्तव्यस्त बनाएको छ । आर्थिक अनियमितता र व्यक्तिगत स्वार्थका कारण गाउँपालिकाका महत्त्वपूर्ण कार्यहरू रोकिएका छन् । समस्या समाधानका लागि संघीय सरकारको हस्तक्षेप आवश्यक देखिन्छ । प्रशासनिक समन्वय र पारदर्शिताको अभावले जनतामा असन्तुष्टि र विकासमा बाधा पुर्याउने स्पष्ट संकेत देखिएको छ ।







