काठमाडौँ । नेपालमा एमपक्सको सम्भावित जोखिम नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष बैठक गरेका छन्। बुधबार विमानस्थल पुगेर स्थलगत निरीक्षणसहित उनले सम्बद्ध अधिकारीहरूसँग छलफल गर्दै जोखिम फैलिन नदिनका लागि प्रभावकारी सेवा सुनिश्चित गर्न निर्देशन दिए।
हाल मन्त्रालयले एमपक्स नियन्त्रणका लागि विमानस्थलमा हेल्थ डेस्कमार्फत स्वदेश फर्किने यात्रुको निगरानी र सचेतनामूलक जानकारी प्रवाह गर्दै आएको छ। मन्त्री पौडेलले विमानस्थलमा कार्यरत एयरलाइन्सका प्रतिनिधि, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीसँग छलफल गर्दै मन्त्रालय यो जोखिमलाई न्यूनीकरण गर्न हर सम्भव तयारी अवस्थामा रहेको बताए। उनले भने, “तपाईँहरूलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन हामी तयार छौँ। कुनै समस्या भए भन्नुहोला।”
हाल साउदी अरेबियाबाट आएका दुई नेपालीमा एमपक्स सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने अर्का एक जनाको उपचार सरुवा रोग नियन्त्रण अस्पताल, टेकुमा भइरहेको छ। मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले समन्वय गरेर काम गरिरहेको जानकारी दिए।
मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शंकास्पद बिरामीहरूको सम्पर्क ट्रेसिङ गर्नेदेखि विमानस्थलमा हेल्थ डेस्कमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले संक्रमित बिरामीको टेकुस्थित अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
साउदी अरेबियाबाट सङ्क्रमित बिरामी आइरहेकाले मन्त्री पौडेलले नेपाली दूतावासमार्फत नेपाली समुदायमाझ सचेतना फैलाउन निर्देशन दिएका छन्। विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले मन्त्रालयले अपनाएको सजगता प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए।
मन्त्रालयको आकस्मिक योजना र समन्वयले एमपक्स फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।







