काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनका प्रतिनिधि त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् ।
१० बुँदे माग राख्दै क्रान्तिकारीसहित अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियन संयुक्त रूपमा धर्ना बसेका हुन् ।
विगतदेखि दलगत भागबण्डाको चपेटामा परेको विश्वविद्यालय पटक-पटक अनिर्णयको बन्दी हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउँदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरिनु आजको आवश्यकता रहेको छ । यो प्रकियाले पूर्णता नपाउँदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयमको मेरिटोक्रेसिविरुद्धको गतिविधिले फेरि पनि दलगत भाडबण्डालाई प्रोत्साहन गरी विश्वविद्यालयलाई अराजकता तिर धर्केलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउँदै घोर भर्त्सना गर्दछ ।’
उनीहरूले मेरिटोक्रेसिको आधारमा क्याम्पस विभागीय प्रमुखहरू बिनासर्त नियुक्ति गर्नुपर्ने, डा। पुष्कर रैखोला नेतृत्वको छानबिन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, अध्ययन बिदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारी एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने, त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, आंशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्नेजस्ता माग राखिएको छ ।







