ओटावा । क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरे खोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
क्यानाडाका स्वास्थ्य अधिकारीहरूका अनुसार यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी बिरामीमा देखिएको छ । सामान्यतया, क्यानाडामा एक हजारदेखि तीन हजारसम्म सङ्क्रमित भेटिने गरेकोमा यो वर्षको सङ्क्रमण दर निकै बढी भएको देखिन्छ, क्यानडाको सीटीभी न्युजले जनाएको छ ।
क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकृत डा. थेरेसा टामले सन् २०२५ सम्ममा आफ्नो सबैभन्दा ठूलो स्वास्थ्य समस्याबारे उजागर गर्दै भने, “लहरे खोकीलाई वर्षौँसम्मको निरन्तर खोपद्वारा नियन्त्रण गरिएको थियो र यो फेरि आउनुको एक कारण लहरे खोकीको लागि दिइने नियमित बाल्यकालको खोपमा अवरोध हो ।”
सीटीभी न्युजका अनुसार क्यानाडामा रुघाखोकीलाई ‘राष्ट्रिय स्तरमा देखिएको रोग’ को रूपमा लिइनछ र यसलाई क्यानेडियाली ‘नोटिफाइबल डिजिज सर्भिलेन्स सिस्टम’मार्फत निगरानी गरिन्छ।







