काठमाडौँ । सर्वोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनभन्दा ठिक विपरीत वकिलहरूको निर्वाचनमा भने काँग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ ।
आगामी पुस २० गते हुने सर्वोच्च बार एशोसियसनको निर्वाचनमा एमालेनिकट प्रगतिशील कानून व्यवसायी संघको तर्फबाट अध्यक्षमा महेश थापा उम्मेदवार छन् ।
उनलाई समर्थन जनाउँदै माओवादीनिकट आरपिएलएको तर्फबाट सचिवमा प्रभाकर श्रेष्ठ उम्मेदवार तय भएका छन् । यसअघि एमालेनिकट पिपिएलएबाट सचिव उम्मेदवार बनेका पुष्पराज बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई संगठनबीचको समझदारी अनुसार माओवादीले सचिव र २ सदस्य पाएको छ । बाँकी पदमा एमालेका उम्मेदवार छन् ।
त्यस्तै काँग्रेसनिकट डिएलए र नेकपा एसनिकट एसपिएलएबीच पनि चुनावी गठबन्धन भएको छ । उक्त गठबन्धनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल उम्मेदवार छन् भने उपाध्यक्षमा नेकपा एसनिकट एसपिएलएका अम्बर बहादुर राउत उम्मेदवार छन् ।
काँग्रेससँगको गठबन्धनमा नेकपा एसले सहसचिव र २ सदस्य समेत पाएको छ । वकिलहरूको यो गठबन्धनलाई आगामी फागुनमा हुने नेपाल बारको निर्वाचनको अभ्यास मानिएको छ । यसअघि पाटन उच्च बारमा पनि एमाले र माओवादीको गठबन्धनविरुद्ध काँग्रेस र नेकपा एसले बनाएको गठबन्धन पराजित भएको थियो ।