काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स नेपाल आइपुगेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आबद्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौँ ओर्लिएर सीधै पोखरा पुगेका छन् ।
पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए ।
टिमका लागि समर्थन जुटाउन बिहीबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथलगायत नौवटा संघसंस्थाले संयुक्त रूपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा पुगेका हुन् ।