काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।
जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लीला पछाईलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
पोखरास्थित सूर्य दर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।