पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङ रहेका छन् ।
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारतरतर्फ जान लागेका तामाङ र एक युवतीलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले बुधबार बेलुकी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा तामाङले ती युवतीलाई वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।