काठमाडौँ । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको पैसा एक वर्षे मुद्दती निक्षेपमा राख्ने बैंकहरुको खोजी गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त कोषको रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफ्नो इमेलमा प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
२०८१ कात्तिक १३ देखि २०८२ कात्तिक १२ गतेसम्मका लागि राख्न लागिएको उक्त मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २ गते ७ बजेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्न प्रस्ताव माग गरेको हो ।
यो निक्षेप लिन राष्ट्र बैंकले १२ वटा सर्त राखेको छ । उक्त शर्तअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजी कोष कायम भएको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएकोलगायतका सर्त छन् ।