आयू द्रोण सुते श्रीयो दशरथे सत्रुक्षयं राघवे !
ऐश्वर्य नहुष गतिश्च पवने मानञ्च दुर्यो धने !
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्ती सुते !
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !
माथिको हरफ हिन्दु नेपालीहरूको महान् चाड बडा दसैँ (विजया दशमी) को दशौँ दिनबाट सुरु भई कोजागत पूर्णिमाका दिनसम्म गाउँ-शहर, लेक-बेसी, तराई-पहाड कहिँकतै रात-दिन बिना कुनै हेक्का गुञ्जायमान हुन्छ । बडा दसैँमा आफन्त तथा मान्यजनहरूबाट प्राप्त हुने यस प्रकारको आशीर्वादको भावनार्थ द्रोण पुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस्, दुर्योधनको जस्तो मान-सम्मान होस्, सूर्य पुत्र कर्णको जस्तो दान वीरता मिलोस्, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता हाँसिल होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवानको जस्तो कृत्ति प्राप्त होस् भन्ने हुन्छ ।
आश्विन शुक्ल प्रतिपदाबाट कोजागत पूर्णिमा सम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धि दात्री, गरी नवदुर्गाको पूजा गर्दै पवित्र चण्डी पाठ गरी दुर्गा माताका साथै त्रिशक्ति माता (महाकाली, महालक्ष्मी र महासरस्वती) को विशेष पूजा आराधनापछि अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टिका र पहेँलो जमरा सहित निधार रङाई आर्सीवाद लिने बाटो खुला हुन्छ । जसलाई कतिपयले विजया दशमी त कतिपयले बडा दसैँका नामले सम्बोधन गर्ने गर्दछन् ।
स्वभावैले रातो रङले क्रान्ति र विजयको संकेत गर्ने मान्यता छ । महिषासुर राक्षसलाई बध (नष्ट) गरिएको, श्री रामले रावणमाथि विजय हाँसिल गरेको, दुर्गा मातालाई दैत्य-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गर्न सफलता प्राप्त भएको समयलाई आधार मानेर नै घटस्थापना अर्थात् जमरा राखेको दिनबाट विशेषतः दशौँ दिनमा टिका र आर्सीवाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ । जहाँसम्म “दसैँ” लाई सम्बोधन गरिने प्रसङ्ग छ, एक थरीले अर्काको बध गरेर खुसीयाली मनाएको पर्वलाई “विजया” भनेर सम्बोधन गर्नु भन्दा “बडा दसैँ” नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कु-रीति र कंलंकित मानसिकताको नष्ट गरी शान्ति र सु-संस्कृति स्थापनार्थ सफलता हाँसिल गरेको कार्यसँग जोडिएको हुनाले “विजया दशमी” भन्दा अनुपयुक्त नहुने अर्को थरीको तर्क पनि छ ।
जे सुकै भएता पनि पौराणिक काल देखिनै चली आएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो । कृषि प्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइ सकेर यस बिचमा राम्रो लगाउने, मिठो मसिनो र खाने र आफन्त तथा मान्यजनहरूसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ, दसैँ ! तर सबै कुरा ठिकै र राम्रै भइरहँदा आशीर्वादको कुराले केही पृथक् व्यवहारिकता सँग सम्बन्ध राख्दछ नै । किनकि मनै देखि पस्किएका ती कोमल शब्दहरूले व्यवहारमा त्यही किसिमले सामिप्यता राख्दछन् नै भन्न पनि सकिन्न । यति हुँदाहुँदै पनि हिन्दु धर्मावलम्बीहरूले कि त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिस्कार गर्नुपर्छ नत्र आफूभन्दा अग्रजले खुला हृदयले दिएको आशीर्वादलाई कञ्चनताका साथ स्वीकार गर्नु पर्छ । भलै शिक्षा,वाणिज्य तथा मानविकी संकायमा स्नातक तथा स्नातकोत्तर गर्दै गरेका युवाह््रुलाई आशीर्वाद दिने क्रममाम हजुरबुवा पुस्ताले डाक्टर, पाइलट भएस् ! भनिरहँदा अशिक्षाको एक हद त्यहीँ प्रकट भइसकेको हुन्छ ! जबकि नेपालमा जो कोही पनि सहजै डाक्टर, पाइलट, इन्जिनियर हुन सक्ने अवस्था छैन । जसको मुख्य कारणको रूपमा समग्र शैक्षिक प्रणाली, युवाहरूको भविष्यप्रति राज्यको उदासीनता, राज्यको आर्थिक अवस्था तथा गुणस्तरीय शिक्षामा कहिल्यै सबैको पहुँच स्थापित हुनै नसक्ने गरी सिर्जित वर्गीय खाडल विराजमान छन् ।
पहुँचवालाहरुका लागि देशमा लोकतन्त्र आएको होला तर निमुखा जनताकालागि यसले व्यहारीक रूपमा तात्त्विक भिन्नता ल्याउन सकेको छैन । आफ्नो उत्पादनको बर्सौँ देखिको मूल्य नपाएका उखु किसानहरूलाई लोकतन्त्रले के उपहार दिएको छ ? विदेशी धुलो दूधको आयातले उचित मूल्य नपाउनु छँदै छ साथमा दुग्ध संस्थानलाई वर्षौँदेखि उधारो दूध बिक्री गर्दै आएका दूध किसानहरूका लागि लोकतन्त्रले के गर्दै छ ? देशमा श्रमको मूल्यले जीवन धान्न नसकेर खाडी मुलुकमा पसिना बगाउँदै गरेका युवाहरूका लागि लोकतन्त्रले देशभित्र कति रोजगारी सिर्जना गर्दै छ ? नेपालमा उच्च शिक्षा हाँसिल गर्न लाग्ने लागतको उत्पादकत्व देखि तर्सिएर उच्च शिक्षा हाँसिल गर्न र उच्च शिक्षा हाँसिल गरे पश्चात् जीवन धान्नकै लागि दैनिक हजारौँको संख्यामा विदेश पलायन हुँदै गरेका युवाहरुकालागि लोकतन्त्रले के गर्दैैछ ?
महँगो स्वास्थ्य सेवाको उपभोक्ता हुन नसकेर रोगसँग लडिरहेका र गुणस्तरीय शिक्षा आर्जन गर्नबाट वञ्चित नागरिकहरूका लागि लोकतन्त्रमा राज्यको स्वास्थ्य र शिक्षा प्रणाली कति भरपर्दो र विश्वासनिय भएको छ ? लगायतका गम्भीर सवालहरू हामीमाझ छर्लङ्गै छन् । यतिका प्रतिनिधिमूलक घटना मात्र मात्र हैन कि आशिर्वादहरुलाई राष्ट्र र नागरिकसँग जोड्ने हो भने खण्ड खण्डमा केलाउन सक्ने धेरै अवस्थाहरू हामीमाझ विद्यमान छन् ।
हामी विकृत आधुनिकतासँग निकै परिचित छौ र तर विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौँ । अस्वत्थामाको दीर्घायुको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जीवनलाई मृत्युसामु आत्मसमर्पण गर्ने ठुलो सङ्ख्याको मुख्य कारणको रूपमा गरिबीले निम्त्याएको जोखिमपूर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपूर्ण सडक यातायातको अवस्था, हरेक वर्ष दोहोरिएर घट्ने बाढी पहिरो र डुबान तथा जोखिमपूर्ण हवाइ यात्रा आदिले जिस्काइरहेको छ । दशरथ राजाको श्री सम्पत्ति एउटा भावना भयो तर हाम्रो मुलुकमा बिहान बेलुका हातमुख जोर्ने र आधारभूत आवश्यकता पुरा गर्न असक्षमहरूले के दसैँमा आशीर्वाद नलिने ? श्री रामको जस्तो शत्रु नाश होस् भनिरहँदा दलिय, धार्मिक, वर्गीय, जातीय र क्षेत्रीय रूपमा हामी विभाजित हुँदो अवस्थाप्रति अग्रसर छौँ । नहुष राजाको ऐश्वेर्यता र हनुमानको गतिशीलता, दुर्योधनको मान, कर्णको दान वीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै बिरानो हुन आउँछ ।
विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृत्ति एक आफैँमा समयसँग सङ्घर्षशील रहन्छ । भन्न खोजिएको यो होइन कि, आशीर्वाद गलत भयो ! तर कम्तिमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ । दैवी कालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमानदारिता, सत्यता, दान वीरता, गतिशीलता, ज्ञानता, आदिको संयोजनले सम्पूर्ण कुराहरूलाई एकीकृत गरी नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्दछ ।
एउटा व्यक्ति परिवार भन्दा अलग रहन सक्दैन, परिवार समाजभित्र रहन्छ र राष्ट्रको एक अंगको रूपमा समाजको चरितार्थ प्रकट भइरहेको हुन्छ । अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य सञ्चालनको व्यवस्थासँग जोडिन्छ । तर आज दुर्योधनको दीर्घायुसँग आशीर्वाद साटी रहँदा अकालमा सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न नसकेर मृत्यु अनावरण गर्नेहरूको संख्या दैनिक दोहोरो संख्यामा बढिरहेको छ । कारणका रूपमा जुनै हिसाबले पनि राज्य र यसका अङ्गहरू जोडिएका छन् । चाहे ती नीति निर्माणका सिलसिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षहरूमा भएका लापरबाही नै किन नहुन् ? आ–आफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने, के राज्यसत्ता सञ्चालनका पात्रहरू मध्ये कोही पनि हिन्दु थिएनन् त ? के उनीहरूले युधिष्ठिर जस्तो सत्यवादिता र विदुर जस्तो ज्ञानी हुनु भन्ने आशीर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ?
यसर्थ आशीर्वादको रूपमा खास समयमा प्राप्त गरिने यस प्रकारका मेहेनति कर्णप्रिय शब्द प्रवाहहरू अब सधैँ आशीर्वादमा मात्र सीमित बन्नु हुँदैन । कम्तिमा व्यवहारिकतासँग जोडिन सफल रहनु पर्छ । आर्सीवादको मर्मझैँ देशमा पनि राजनीतिक रूपमा दक्षिण एसियाभित्र विकसित पछिल्ला घटनाहरू (बंगालादेश होस् वा श्रीलङ्काको अवस्था) र तिनबाट सिर्जित अर्थतन्त्रमाथिको उतारचढाव बाट सचेत रहँदै आर्थिक सुस्तताको चुनौती मोल्ने सुदृढ अवस्था निर्माण होस्, राष्ट्रमा सुख, शान्ति र समृद्धिको गतिशील ढोका खुलोस् ! बडा दसैँको सबैलाई शुभकामना !