१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डबल स्ट्यान्डर्ड स्वीकार्य छैन, भनाई र गराइमा एकरूपता देखियोस् : गृह सचिव दुवाडी

अ+ अ-

गृह सचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनलाई नागरिकले अनुभूति गर्न सक्ने गरी चलायमान बनाउन आफूले कुनै कसर नछाड्ने उल्लेख गर्दै मातहतका सबै कर्मचारीलाई भनाई र गराइमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्। उनले डबल स्ट्याण्डर्ड आफूलाई स्वीकार्य हुँदै नहुनेसमेत बताए।

काठमाडौँ । नवनियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले कर्मचारीहरूको भनाई र गराइमा एकरूपता हुनुपर्ने भन्दै आफूलाई ‘डबल स्ट्यान्डर्ड’ स्वीकार्य नहुने बताएका छन् । गृह मन्त्रालयमा पद बहालीसँगै गृह प्रशासनका कर्मचारीहरूलाई सामूहिक निर्देशन दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘जुनसुकै कुरामा पनि, जहाँ गए पनि भनाई र गराइमा एकरूपता कायम गर्न म आग्रह गर्न चाहन्छु’ गृह सचिव दुवाडीले भने, ‘भनाई र गराई फरक भयो, डबल स्ट्यान्डर्डका कुराहरू भए भने चाहिँ कहीँ पनि स्वीकार्य हुँदैन ।’ 

उनले जहाँ गए पनि यौटै भनाई हुनुपर्ने अडान समेत दोहोर्‍याए । ‘मन्त्रीसँग एउटा कुरा भन्ने, सचिवसँग अर्को कुरा भन्ने, महाशाखा प्रमुखलाई यौटा कुरा भन्ने र बाहिर अर्को भन्ने भयो भने यो स्वीकार्य हुने छैन’ उनले भने । 

गृह सचिव दुवाडीले नहुने कुरा हुँदैन भनेर स्पष्ट रूपमा अगाडि नै भन्न समेत आग्रह गरे । हुने र सम्भव कुरा जे गरेर हुन्छ, गरेर जानुपर्नेमा उनले जोड दिए । 

पछिल्लो समय निजामती प्रशासनसँगै सुरक्षा संयन्त्रहरूमा समेत पेशागत मर्यादा भन्दा फरक किसिमका गतिविधि भइरहेको उल्लेख गर्दै उनले त्यस्ता खालका कार्य नगर्न आग्रह गरे । ‘जुनसुकै कार्यसम्पादन गर्दा पनि हामीले गर्नुपर्ने कुरा के हो ? कानुनले के भन्छ ? प्रक्रियाले के भन्छ ? भन्ने कुरालाई ध्यानमा राखी काम गर्नुहोला’, उनले निर्देशनका क्रममा भने । 

गृह सचिवले आफ्नो कार्यकालमा सुरक्षा र शान्ति कायम राख्न आवश्यक सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्दै गृह मन्त्रालय मातहतका कर्मचारीहरूसँग सहकार्य गरेरै काम गर्ने बताए । उनले प्रशासनको नेतृत्व गर्ने गरी गृह मन्त्रालयको सदस्यमा आफू थपिएको बताउँदै शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्ने, सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र विकासका कार्यमा सहजीकरण गर्ने मन्त्रालयको प्रमुख उद्देश्य भएको बताए । उनले भने, ‘यो उद्देश्य पुरा गर्नको लागि प्रशासनिक तहबाट राजनीतिक नेतृत्वसँग समन्वय गरेर नतिजा देखिने गरी काम गर्न मेरो पूरा प्रयत्न हुने छ, जनताले अनुभूति गर्ने गरी काम गर्न हामी सबै सफल हुनुपर्ने छ, असफल हुने छुट छैन । त्यसका लागि सबैको साथ, सहयोग र समन्वयको अपेक्षा गरेको छु ।’ 

गृह मन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने सन्दर्भमा के गर्नुपर्ने हो, त्यसमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले जनाए । 

गृह मन्त्रालयको कार्य विभाजन नियमावलीले ५१ वटा जिम्मेवारी तोकेको भए पनि अरु मन्त्रालयको जिम्मामा नरहेका कतिपय विषयसमेत यही मन्त्रालय अन्तर्गत रहन्छन् । त्यस कारण गृहले यति नै काम गर्ने भनेर किटानी गर्ने भन्दा पनि मन्त्रालयको उद्देश्य प्राप्तिका लागि गर्नुपर्ने सबै कर्तव्य, जिम्मेवारी र जबाफदेहिता निर्धारित रहेको उनले बताए । सम्बन्धित निकायले ती कामहरू गर्नको लागि मात्र नगरेर जनताले अनुभूति गर्ने गरी काम गर्न जरुरी रहेकोमा उनले जोड दिए ।

सम्बन्धित समाचार :  गृह सचिवमा गोकर्णमणि दुवाडी

शान्ति, सुरक्षाको अवस्था सन्तोषजनक भए पनि जनताले गृह प्रशासनप्रति कस्तो धारणा बनाइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले थपे, ‘सङ्घीयतामा सेवा प्रवाहको धारणाबारे स्टाफ कलेजले गरेको अध्ययनमा ७१ प्रतिशतले राम्रो छ भनेका छन् । यही विषयमा द एसिया फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदनले भने ४१ प्रतिशत मात्र सन्तोषजनक छ भनेको छ । यति धेरै फरक कसरी भयो ?’ उनले भने, ‘सरकारको सेवा प्रवाह सन्तोषजनक नभएको कुरा उठेको छ । यो अध्ययनमा पनि यति धेरै अन्तर किन भयो ? रेस्पोन्डेन्टको कुरामा फरक पर्ला, तर अनुभूतिमा त फरक नपर्नुपर्ने हो नि !’  

गृह प्रशासनले काम गर्नको लागि मात्र नगरेर प्रदान गरेको सेवाको अवस्था, शान्ति, सुरक्षा र सुव्यवस्थाको अवस्थाको बारेमा नागरिकले देखेको, भोगेको आधारमाधारणा बन्ने गरेको, यसलाई सकारात्मक बनाउन धेरै चुनौती रहेको उनले उल्लेख गरे ।  

धेरै विषयहरू सामाजिक सञ्जालबाट पनि प्राप्त भइरहेकाले त्यसबाट अध्ययन–विश्लेषण गरेर र पाठ सिकेर आगामी दिनमा ती कुराहरू नआउने गरी अनुभूतियोग्य कुरालाई अगाडि बढाउन जरुरी रहेको उनले बताए ।  त्यस क्रममा गृह सचिवले सरकारी निकायहरूले सम्पादन गरेका कुराहरू हेर्ने हो भने सेवा लिँदै गर्दा मात्र ठिकै रहेको, तर सेवा लिएको व्यक्ति घर पुगुन्जेलसम्म त्यसको गुणस्तरीयता र विश्वसनीयतामा धेरै प्रश्न उठिरहेको हुने अवस्था भएको प्रसङ्ग उठाए । आगामी दिनमा त्यस्ता कुरा नहुने गरी काम गर्न जरुरी रहेको, त्यसका लागि विद्यमान ऐन कानुन प्रष्ट रहेको उल्लेख गर्दै उनले त्यसका अलावा केही समय अघि प्रधानमन्त्रीले निर्देशन गरेबमोजिम मन्त्रीहरूले प्रधानमन्त्रीसँग गरेका सम्झौताहरूलाई नतिजा उन्मुख देखिने गरी काम गर्न जरुरी रहेको बताए । 

सम्बन्धित समाचार : नव नियुक्त गृह सचिव दुवाडीको पद बहाली आजै

दैनिक रूपमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने कुरामा गृह प्रशासनका निकायहरू क्रियाशील रहेको बताउँदै उनले त्यसमा समुन्नत र प्रभावकारी कुरासमेत थपिने गरी काम गर्न आग्रह गरे । दैनिक रूपमा प्रवाह हुने सेवाहरू सधैँ पेचिलो हुँदै आइरहेको भन्दै उपलब्ध गराउने सेवामा क्रियाशील भएर सजगतापूर्वक अगाडि बढ्न आवश्यक रहेको समेत औँल्याए । 

केही दिन अघि मात्र गृह सचिवबाट मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्यालले पद बहालीका क्रममा दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै दुवाडीले ‘सिंहदरवारमा कर्मचारी धेरै भएको तर सिंहदरवारकै गेटमा भएका निकायहरूमा सेवाग्राहीको चापाचाप रहेको’ प्रसङ्ग कोट्याए । यी विषयहरूलाई मध्यनजर गर्दै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू सहज बनाउनुपर्ने उनले बताए।

गृह सचिव दुवाडीले विकास निमार्णको कामलाई तोकेको समयमा गुणस्तरयुक्त बनाउने र समयमा सम्पन्न गराउनको लागि समन्वयकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिए । नीतिगत र कानुनी कुराहरूमा छिट्टै नतिजा देखिने गरी काम गर्न जरुरी रहेको उनले बताए । सरकार गठनको सय दिनभित्र पनि परेका कतिपय कुराहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले प्राथमिकतासाथ अगाडि बढाएका कामलाई महत्त्व दिँदै नागरिक एकमा सरकारी सेवाहरूलाई आबद्ध गर्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने आग्रह गरे । भइरहेका संरचनामा के कुरा सुधार ग¥यो भने उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर नतिजामा उतार्न सम्बन्धित निकायलाई उनले आग्रह गरे । 

अहिले भइरहेका संस्थागत संरचनाहरूमा के सुधार गर्‍यो भने मन्त्रालयका उद्देश्य हासिल गर्न सकिन्छ भन्नेबारे अध्ययन र विश्लेषण गरेर एक्सनमा उतार्न, सोहीअनुसार नतिजा दिन उनले आग्रह गरे । 

सम्बन्धित समाचार : गृह सचिव दुवाडीद्वारा पद बहाली

कतिपय कार्यनीति र निर्देशिकामा नभएका कुराहरू जस्तै, सहकारी पीडितका कुरा, मिटरब्याजीका कुरा र विपद्का कुरामा प्रभावकारी रूपमा काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । यस विषयमा विभिन्न निकायले काम गरिरहेको, तर त्यसमा थप केही नवीनता र सिर्जनात्मक तरीकाले काम गर्न उनले आग्रह गरे । 

त्यस क्रममा गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख नारायण भट्टराईले गृह सचिव दुवाडीको कार्यकालमा काम गर्न सहज हुने गरी स्पष्ट दिशानिर्देश प्राप्त गर्ने बताए । उनले भने, ‘उहाँको नेतृत्वमा गृह मन्त्रालयले शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निमार्णमा सहजीकरण र सम्पूर्ण गृह प्रशासनको क्षेत्र भित्रको काममा दक्षता, कार्यकुशलता, प्रभावकारिता र सुशासनसहित काम गर्ने विश्वास लिएका छौँ ।’ मन्त्रालय अन्तर्गतका कुनै पनि काम गर्दा सुरक्षा निकायबाट पूर्ण सहयोग हुनेसमेत भट्टराईले प्रतिबद्धता जनाए । 

गृह सचिव दुवाडीले गर्ने निर्देशनले काम गर्ने सन्दर्भमा एक खालको मार्गदर्शन हुने उनले बताए । उनले शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहको जानकारीसमेत गराए । गृह मन्त्रालयले सुरक्षा चुनौतीहरूलाई गम्भीर रूपमा विश्लेषण गर्ने, त्यसलाई सतहमा आउनुभन्दा पहिला व्यवस्थापन गर्ने र नागरिकको जीवन रक्षा, सार्वभौमिकता रक्षा र सेवा प्रवाहलगायतको विषयमा प्रभावकारी रूपमा काम गरेको भट्टराइले जानकारी दिए । नागरिकले विपत्तिको बेला ज्यान गुमाउन नपरोस् भन्ने हिसाबले नागरिकको जीउधनको सुरक्षा गर्नको लागि गृह मन्त्रालय खासगरी उद्धार र राहतको काममा अहोरात्र खटिरहेको उनले बताए ।

भट्टराईले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा जिल्ला सुरक्षा समितिले प्रभावकारी रूपमा काम गरिरहेको बताए । जिल्लाहरूमा कर्मचारी अभावका कारण सेवा प्रवाह नरोकियोस् भन्ने हिसाबले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर कर्मचारीहरूको व्यवस्थापनमा सहजीकरण गरिरहेको समेत उनले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस