काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा १ सय ७८ वटा खाद्य उद्योगविरुद्ध कारबाहीका लागि मुद्दा दायर गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य वस्तु उत्पादन गर्ने खाद्य उद्योगविरुद्ध कारबाहीका लागि विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा दायर गरिएका १ सय ७८ मुद्दाहरू मध्ये प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न/दलहनका २९ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका २२ वटा, तेल तथा घ्यूजन्य पदार्थका १८ वटा, दूध तथा दुग्ध पदार्थका १६ वटा, मसलाका ९ वटा, फल तथा सागपात जन्य पदार्थका ३ वटा, चिया/कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको विभागले जनाएको छ । सो मध्ये ६१ वटा मुद्दा दूषित, ५९ वटा मुद्दा न्यून गुणस्तर, ३५ वटा मुद्दा लेबल सम्बन्धी र २३ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धी रहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
कारबाहीमा परेका उद्योगहरूको मुद्दा विवरण
विभागले आव २०८०/८१ मा ११ हजार २ सय ३ पटक बजार अनुगमन गरेको छ । विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३ हजार ६ सय ६३ पटक, खाद्य तथा दाना उद्योग अनुगमन ३ हजार २ सय ७७ पटक, होटेल रेष्टुरेन्ट अनुगमन २ हजार ५ सय ८५ पटक, रेपिड रेस्पोन्स अनुगमन ५ सय ४३ पटक, हाट बजार/मेला महोत्सव अनुगमन १ सय १६ पटक, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक अनुगमन गरेको छ ।
गत आवमा विभागबाट उद्योग अनुज्ञा पत्र जारी ९ सय ३३ वटा, उद्योग नवीकरण २ हजार ४ सय ३० वटा र उद्योग स्थापनार्थ दर्ताको सिफारिस १ हजार ४ सय १७ वटा गरी जम्मा ४ हजार ७ सय ८० वटा उद्योगलाई सिफारिस भएको छ ।
अनुगमन तथा कारबाही
विभागले बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन/नियम/निर्देशिका बमोजिम नपाइएका खाद्य पदार्थ जफत तथा नष्ट गरेको छ । १ करोड १ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको मसला, खाद्यान्न, बियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको विभागले जनाएको छ ।
गत आवमा विभाग तथा मातहतका कार्यालयहरूबाट बजार, उद्योग, होटेल रेष्टुरेन्ट/मिठाई पसल, फलफूल बजार, हाट÷बजार एवं गुनासो उजुरी सम्बोधनका लागि रेपिड रेस्पोन्स मोडालिटिबाट अनुगमन गरिएको थियो ।
यसै गरी विभागले दालमा बाह्य रङ्गको अनुगमन पनि गरेको थियो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेले भन्सार कार्यालयबाट पैठारीका लागि प्राप्त दालहरूका ६ वटा नमुनाहरू जाँच विश्लेषण गरेको थियो । दालमा बाह्य रङ्ग पाइएकोले ३० हजार ३ सय १० के.जी. दाल आयात अस्वीकृत गरेको थियो ।
विभागमा प्राप्त २२ वटा दालहरूको नमुनाहरू जाँच परीक्षण गर्दा २ वटा रहरको दालमा कोलटार रङ्ग प्रयोग गरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट २१ वटा दालका नमुनाहरू जाँच परीक्षण गर्दा ३ वटा मासको दालमा बाह्य रङ्गको प्रयोग गरेको पाइएकोले कारबाहीको प्रक्रियामा रहेको विभागले जनाएको छ ।
आयात निर्यात नियमन र परीक्षण
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आवमा १५ हजार ६ सय ७८ वटा आयात अनुमति जारी गरेको छ । आवश्यक कागजात पूरा नभएका लगायत विभिन्न ६१ वटा कन्साइन्मेन्टहरुको अनुमति निवेदन अस्वीकृत गरिएको विभागले जनाएको छ ।
राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा आहारपूरक खाद्य पदार्थमा भिटामिन्स्को विश्लेषण परीक्षण गर्नका लागि विधि विकास गरिएको छ । ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेष परीक्षणका लागि विभाग अन्तर्गत १२ वटा भन्सार नाका स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू लगायत १६ स्थानबाट परीक्षण सुविधा छ । गत वर्ष थप ५ स्थानमा प्रयोगशाला उपकरणको व्यवस्था गरी विभाग तथा मातहतका सबै प्रयोगशालाहरूबाट सो सेवा प्रवाह हुने गरी व्यवस्था मिलाइएको छ ।
विभाग तथा मातहतका प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने क्रममा मानव स्वास्थ्यको लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट परीक्षणका लागि विराटनगर र भैरहवा स्थित कार्यालयमा, हेभी मेटल परीक्षणका लागि भैरहवा र नेपालगन्ज कार्यालयमा र खाद्य योगशील परीक्षणका लागि विराटनगर, भैरहवा र नेपालगन्ज स्थित कार्यालयमा प्रयोगशाला उपकरणहरूको व्यवस्था गरिएको छ ।
गत आवमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूका प्रयोगशालाहरूबाट २६ हजार ३ सय ७ वटा नमुनाहरूको प्रयोगशाला जाँच परीक्षण गरिएको छ । विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट खाद्य तथा पेय पदार्थहरूका ४६ हजार ९ सय ४८ वटा नमुनाहरूको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ४५ वटा नमुनाहरू प्रतिकूल पाइएको थियो । त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३ हजार ३ सय ५७ वटा नमुनाको आरबिपिआर विधिबाट जीवनाशक विषादी अवशेष परीक्षण गरिएकोमा ३७ वटा नमुनाहरू प्रतिकूल पाइएको विभागले जनाएको छ ।
आव २०८०/८१ मा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको एक्रिडिटेशन प्यारामिटर २ सय ८६ वटा बाट केमिकल्स, माईक्रोबायोलोजीकल्स तथा कन्टामिनान्ट्स गरी ३ सय ५० वटा प्यारामिटरहरुमा एक्रिडिटेशन क्षेत्र विस्तारका साथै फुड सेप्टी एन्ड स्ट्याण्डर्स् अथोरिटी अफ इन्डियाबाट इन्टिग्रेटेड असिस्मेन्टको मान्यता प्राप्त गरेको विभागले जनाएको छ ।
बालबालिकालाई लक्षित गरी खुला रूपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्याण्डीमा अखाद्य रङ्ग प्रयोग भएको पाइएपछि विभाग तथा मातहतका कार्यालयहरूबाट सूचना जारी गरी उपभोक्तामा सुसूचित गराउने काम विभागले गरेको छ । खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार यस आवमा १ हजार ३ सय ३१ वटा उत्पादन दर्ता र १ हजार ६ सय ४१ वटा नवीकरण गरी जम्मा २ हजार ९ सय ७२ वटा आहारपूरक खाद्य पदार्थको दर्ता तथा नवीकरण भएको र सोको विभागको वेबसाइटमा प्रकाशन गरिएको छ ।
सिमित स्रोत साधन र जनशक्तिका बिच पछिल्लो समय विभागले देशभर आफ्नो सक्रियता बढाउँदै लगेको छ ।







