काठमाडौँ । नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलो पटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ ।
सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा. डा. सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुरप्रसाद बस्तीले संयुक्त रूपमा सेन्टरको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै डा. लम्सालले नेपालमा पहिलो पटक सञ्चालनमा आएको सो सेवाले मुटु तथा फोक्सोका बिरामीको उपचार प्रक्रिया सहज हुने बताए ।
प्रा. डा. ढकालले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा आएसँगै निद्रामा घुर्नेदेखि अन्य मुटु तथा फोक्सोको समस्याको पहिचान र उपचार एउटै छानामुनि एकीकृत रूपमा पाइने बताए ।
यो सेवा साताको ६ दिन नै उपलब्ध गराउने र आवश्यकता अनुसार विस्तार गर्दै लैजाने योजना रहेका ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. बस्तीले जानकारी दिए ।







