काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन भएको छ ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्ट्याइएको सिट सङ्ख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न नपाइने महानगरको भनाई छ ।
विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ ।
व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए ।
यस विषयका लागि पहिलो म्याचिङ् लिस्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ ।
मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए ।
शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।
प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।