काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो ।
१० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार छलफल भएपनि निर्णय गर्न बाँकी नै रहेको छ ।
गत असार २१ गते प्रज्ञा भवनस्थित दसौँ राष्ट्रिय महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेको सो पार्टीले बाँकी २०६ जना केन्द्रीय सदस्य महाधिवेशन सकिएको १० दिनभित्र चयन गरिसक्ने जनाएको थियो । तर महाधिवेशन सकिएको २० दिन बित्दा पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।