काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरूलाई देशको परिस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरूलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।
सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।
उनले उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई महत्वका साथ राखेर काम गर्न सचिवहरूलाई भनेका छन् ।