कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई आज राहत रकम प्रदान गरेको छ ।
पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । घटनामा परेका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई प्रशासनबाट रु. तीन लाख राहत प्रदान गरिएको हो ।
यसैगरी सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु. दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए।
सो राहत रकम प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरूको स्थायी घर रुपा गाउँपालिका-२ पेलुङ्गा पुगेर प्रदान गर्नुभएको हो । अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराजले राहत रकम बुझ्नुभएको थियो ।
नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको सहाय प्रजिअ क्षेत्रीले बताए । राहत प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेसहित रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा-२ का वडाध्यक्ष राजन सुवेदी लगायत पुगेका थिए ।