काठमाडौँ । आफूलाई मन परेको मालदार अड्डामा सरुवा हुन मरिहत्ते गर्ने र मन नपरेको ठाउँमा सरुवा भए नजाने कर्मचारीहरूको पुरानै रोग हो । कतिपय कर्मचारीहरू सरुवा भएको ठाउँमा नजान सेटिङका लागि मन्त्रालयसम्म पनि पुग्ने गर्दछन् ।
यस्तै सरुवा भएको ठाउँमा नजान वीरगञ्जको नारायणी अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक (दसौँ तह) श्रुति साहले गरेको चलखेल असफल भएको छ । सरुवाको लामो समय बितिसक्दा रमाना लिन ढिलाइ गरेकी साहको सरुवा रोक्ने प्रयत्न असफल भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ २३ मा उनलाई कोशी अस्पताल विराटनगरमा सरुवा गरेको थियो । सरुवाको २३ दिन बितिसक्दा पनि उनले आफ्नो सरुवा बारे कुनै जानकारी नभएको बताइन् ।
सरुवा रोक्न माथिल्लो निकायसम्म कसरत गरेकी उनले प्रशासन डटकमलाई आफ्नो सरुवा बारे कुनै जानकारी नआएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मेरो सरुवा भएको विषयमा अस्पतालबाट मलाई कुनै जानकारी गराइएको छैन ।’
कर्मचारीलाई सरुवाको बारेमा किन जानकारी नगराएको ? भन्ने जिज्ञासामा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले साहलाई सरुवा बारे जानकारी भएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँलाई सबै जानकारी छ । बुुझ्बुुझारथ पनि गरिसक्नु भएको छ । रमानाको पत्र तयार भएको छ ।’
प्रशासनको सोधखोजपछि साहको रमाना पत्र तयार भएको छ । हकले भने, ‘उहाँले रमाना लिइसक्नु भएको छ । मैले पत्रमा हस्ताक्षर गरी सकेको छु ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरुवाको जानकारी इमेलमार्फत गर्ने गरेको प्रतिक्रिया दिए । उनले भने, ‘पहिले जस्तो हुलाकबाट पठाउने चलन छैन । अहिले मन्त्रालयले सम्बन्धित कार्यालयलाई इमेलबाट पठाउँछ र कार्यालय प्रमुखले जानकारी गराउँछन् ।’