काठमाडौँ । ७५३ स्थानीय तह मध्ये सोमबार साँझसम्मको तथ्याङ्क अनुसार ४६ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी कम्तीमा ४६ स्थानीय तहले तोकिएको अवधिमा बजेट ल्याउन नसकेका हुन् ।
असार १० भित्र सबै स्थानीय तहले आ-आफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० भित्र आआफ्ना सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन नसकेको नेपाल नगरपालिका संघ स्रोतले बतायो ।
स्रोतका अनुसार असार १० सम्म ८७ वटा स्थानीय तहले सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्न सकेका थिएनन् । यो सङ्ख्या घटेर अहिले ४६ भएको छ । देशका कुल ७५३ स्थानीय तहमध्ये ६५९ वटा स्थानीय तहले असार १० भित्रै सभामा बजेट पेस गरिसकेको पाइएको छ ।