काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता हुनेमा मुख्यसचिव डा. अर्यालसहित ९ जना सरकारी कर्मचारी छन् ।
मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा ३८ करोड ६७ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक तथा हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललगायतविरुद्ध मुद्दा दायर भएको हो ।
यसै गरी आन्तरिक राजस्व विभाग सामान्य प्रशासन शाखा एवं खरिद इकाइका तत्कालीन निर्देशक गणेश विक्रम शाही र तत्कालीन शाखा अधिकृत रविन्द्रप्रसाद पौड्याल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे र लेखा अधिकृत विष्णुप्रसाद गौतम रहेका छन् । गौतम सेवानिवृत्त भएका छन् भने घिमिरे हाल निलम्बित छन् । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक एवं सञ्चालक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीलाई पनि प्रतिवादी बनाएको छ ।
अर्याल नेपालमा भ्रष्टाचारको आरोप खेप्ने पहिलो मुख्यसचिव बन्न पुगेका छन् । भ्रष्टाचार मुद्दा दर्ता भएसँगै निलम्बनमा परेका अर्यालले विशेष अदालतबाट पदावधि हुँदै सफाइ पाएमा मात्रै पदमा बहाल हुन पाउँछन् । नत्र निलम्बनकै अवस्थामा अवकाश हुनुपर्छ ।
सम्बन्धित समाचार : आठ देशका राजदूतको नियुक्ति धरापमा !
सम्बन्धित समाचार : मुख्य सचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
सम्बन्धित समाचार : मुख्य सचिव डा. अर्याल स्वतः निलम्बनमा, निमित्त मुख्य सचिवमा लीला गड्तौला
सम्बन्धित समाचार : मुख्य सचिव विरुद्ध मुद्दा लिएर अदालतमा अख्तियारको टोली
सम्बन्धित समाचार : मुख्य सचिव विरुद्ध मुद्दा चल्ने हल्लाले सिंहदरवारमा तरङ्ग