काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा चल्ने हल्लाले सिंहदरवार तरङ्गित भएको छ ।
मुख्य सचिव अर्याल जोडिएका विभिन्न विषयहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानका क्रममा आइतबार(आज)टेरामक्स वा अन्तःशुल्क स्टिकरमध्ये कुनै एकबारे विशेष अदालतमा मुद्दा लैजान लागेको भन्ने विषयले सिंहदरवार तरङ्गित बनेको हो ।
मुख्यसचिव विरुद्ध मुद्दा जानसक्ने निर्णय अख्तियारले शुक्रवार नै गरेको चर्चा भए पनि उक्त निर्णयबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।
स्रोतका अनुसार आयोगले शुक्रवारको निर्णयलाई अति गोप्य राखेको छ । मुख्यसचिवविरुद्ध आइतबार बिहान ११ः३० बजेसम्म कुनै मुद्दा दर्ता नभएको विशेष अदालत काठमाडौँले जनाएको छ ।
यो खबरसँगै मुख्य सचिव डा. अर्याल आज कार्यालयमा आएका छैनन् ।
यससँगै कायम मुकायम तथा नयाँ मुख्यसचिव नियुक्तीबारे पनि चर्चा शुरु भएको छ । कर्मचारीलाई नेतृत्व दिन सक्ने र ‘परफरमेन्स’का आधारमा कुनै एक सचिवलाई जिम्मेवारी दिने विषयमासमेत चर्चा चलिरहेको छ ।