काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताएका छन् । शुक्रबार पत्रकारसँग कुराकानीमा उनले सरुवा-बढुवा नियमित प्रक्रिया भएको भन्दै उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गरिने बताए ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले सेवामा प्रभावित नहुने दाबी गर्दै मन्त्री यादवले आवश्यकता, कामको प्रकृति र विज्ञताको आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यत्र खटाउन सकिने बताए।
उनले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय गरी कार्ययोजना बनाउने बताए । ‘बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने, ‘बिमामा देखिएका समस्या समाधान गर्न मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिनेछ ।’