काठमाडौँ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।
आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
भट्टराईका अनुसार हत्यामा संलग्न रहेको आरोपमा २ पक्राउ परेका छन् भने अन्यको खोजी कार्य जारी रहेको छ । आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।