काठमाडौँ । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमतिबिना सञ्चालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।
सिजी एजुकेशनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरग्न्जको नामबाट वीरगन्ज-१२ मुर्ली बगैँचामा अनुमतिबिना सञ्चालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको महानगरपालिकाका जनसम्पर्क अधिकृत नवराज फुयाँलले जानकारी दिए ।
त्यसैगरी, वीरगन्ज-२६ सुगौलीमा २०५७ सालदेखि अवैध रूपमा सञ्चालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमीमा पनि सिलबन्दी गरिएको छ ।
वीरगन्ज-१८ भवानीपुरमा सञ्चालित सुरज एकेडेमी अनुमतिबिना नै सञ्चालनमा रहेकोले सिलबन्दी गरिएको तथा सोही वडामा अनुमतिभन्दा बढी कक्षा सञ्चालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको उनले बताए ।