काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
आइतबार काठमाडौँमा बैंकको केन्द्रीय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् । डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटिएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू समेत छन् ।
यो नेपालमा नै पहिलो पटक ग्लोबल आइएमई बैंकले सुरु गरेको हो । ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो सुरु भएको बताए । उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रूपमा विकास गर्न खोजेको बताए ।
उनले डिजिटल युनिभर्समा बैंकका सबै डिजिटल कारोबारलाई डिजिटल लाउन्जको रूपमा सुरुवात गरिएको बताए । उनले डिजिटल युनिभर्समा एटिएस, क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको जानकारी दिए ।
बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा मानिएको छ । डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको सुरुवात भएको उनको भनाइ छ ।