काठमाडौँ । गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरू अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायतका सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो ।
गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरूको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरू उपलब्ध हुने भएका हुन् ।
मन्त्रालयका सहसचिव भरत मणि रिजालको संयोजकत्वमा रहेको कानुन निर्देशिका दिग्दर्शन संकलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन शुक्रबार गृह सचिव एकनारायण अर्याललाई बुझाइएको छ ।
कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रिजालको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, उपसचिव खडानन्द अधिकारी, उपसचिव ऋषि पौडेल, शाखा अधिकृत सुनिता थापा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत दीपा जोशी सदस्य थिए ।
नीति तथा कार्यक्रममा माइल स्टोनका रूपमा समावेश भएको कार्यक्रम अनुसार मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानुन तथा कागजातहरूको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायतका दस्ताबेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिइन् । मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरूसँग समन्वय गरेर दिग्दर्शन तयार पारिएको थापाको भनाइ छ ।
मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा ऐनहरू समावेश गरिएको छ । यसै गरी दोस्रो भागमा नियमहरू, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरू र चौथो भागमा नीतिहरू, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्ताबेज समावेश गरिएको छ । विविधमा कार्य ढाँचा तथा रणनीतिक योजनाहरू राखिएको छ । दस्ताबेज खोज्न सहज होस् भन्नका लागि चार भागमा विभाजन गरिएको हो ।
दिग्दर्शनमा आर्थिक वर्ष २०८०/८१ सम्मका दस्ताबेज समावेश गरिएको छ । दिग्दर्शनमा २६ वटा ऐन, २४ वटा नियम, १४ वटा कार्यविधि, दुई वटा नीति, ८ वटा निर्देशिका, ११ वटा मापदण्डलगायत मन्त्रालयले हालसम्म गरेका परिपत्र समावेश गरिएको छ ।
मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानुन तथा नीति, नियमहरू एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातहरूको दस्तावेजीकरण पनि भएको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमासमेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ ।
गृह सचिव अर्याल सहसचिव हुँदा दुई वटा दिग्दर्शन तयार गरेका थिए । जसले छरिएर रहेका कानुनहरू एकत्रित मात्रै भएनन्, संग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको छ । गृहसँग सम्बन्धित कानुनहरू सहज रूपमा उपलब्ध गराउन र सेवा प्रवाहका क्रममा कुनै द्विविधा भए कर्मचारीलाई पनि सहज होस् भन्ने हेतुले दिग्दर्शन तयार गरिएको गृह सचिव अर्यालले बताए ।