काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् ।
रास्वपाका नेताहरूका अनुसार पार्टीभित्र आन्तरिक छलफल गरेर नै पूर्वशिक्षा मन्त्री समेत रहेका रास्वपाका सांसद खनालले सुमनाप्रति लक्षित गरेर भएका टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
नेपालकै इतिहासमा विदेशीसँग विवाह गर्ने नेपाली महिलाहरू सम्मानित रहेको सांसद खनालले स्मरण गरे । उनले भनेका छन्, ‘कुनै एउटा यस्तो युग थियो जहाँ काठमाडौँकी राजकुमारी तिब्बतका राजासँग बिहे गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजकुमारसँग बिहे गरे र ती दुवै पूज्य भए ।’
तर पछिल्लो समय विदेशमा पढेको, विदेशीसँग विवाह गरेको जस्ता विषयलाई आधार मानेर नेपाली महिलाप्रति अनावश्यक टिप्पणी हुन थालेको सांसद खनालले बताए ।
सुमना श्रेष्ठको नाम नलिएर सांसद खनालले श्रेष्ठले नेपालमा गरेको योगदानको स्मरण गरे ।
‘आज यस्तो जमाना आयो विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ १० वर्ष अगाडि देश फर्किइन्, भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन्, नाकाबन्दीको बेला ‘कारपुल’ भनेर सडकमा हिँडिरहेका मानिसहरूलाई यात्राको सुविधा प्रवाह गरिन्, उद्यममार्फत रोजगारी सिर्जना गरिन् र राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दा घुम्दै आएर मन्त्री बनेको भनिएको छ,’ सांसद खनालले भने ।
सुमना श्रेष्ठले लगाएको लुगा समेतका आधारमा समेत टिप्पणी हुने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।
नेकपा एमालेका अध्यक्ष ओलीले विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिइकन टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।