काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टार्ने गरिएको बताए । ‘जब समस्या आउँछ, केही दिन छलफल हुन्छ, जनताले आन्दोलन गर्छन्, र त्यो समस्या समाधान गर्ने नाममा समिति बन्छ’, उनले भने ।
यसपटक र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा राज्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले तिमीहरू पनि फलानो काण्डमा जोडिएका छौ भन्नेजस्तो लाजमर्दो काम गरेको केसीले बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्ता गठबन्धन तयार नभएको प्रति इंगित गर्दै उनले आफ्नो कर्तुत जोगाउन राज्यको निर्णायक तहमा बसेकाहरूले गरेको गतिविधिले संसदीय समितिले काम गर्छ भन्नेमा आशंका रहेको बताएका हुन् ।
सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण नभई सांसद र मन्त्रीहरू नै जोडिएको केसीले बताए ।
त्यसैले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन, राज्य सत्ताको निर्णायक ठाउँमा बस्नेहरूले जोगाउने गरेको केसीले बताए ।