काठमाडौँ । स्वास्थ्य सेवा विभागले औषधिको अभिलेख राख्न प्रयोग गरेको सफ्टवेयर अनुसार २०८० पौष मसान्तसम्ममा ३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य रहेको पाइएको छ ।
लेखापरीक्षणको क्रममा परीक्षण गर्दा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कोशी अस्पताल र बी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो वर्ष विभाग र प्रदेश आपूर्ति केन्द्रबाट कुनै पनि आइरन चक्की उपलब्ध भएको छैन ।
खरिद गरिएको आइरन चक्की लाभग्राहीले सुलभ तरिकाले प्राप्त गर्न सक्ने गरी वितरणको व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनले औँल्याएको छ । विभागले यो वर्ष २१ करोड ३५ लाख आइरन चक्की खरिद गरी १८ करोड ७० लाख ५० हजार रुपैयाँ खर्च लेखेको छ ।
विगत वर्ष आइरन चक्की खरिद गर्न प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गरेको र यो वर्षसमेत प्रदेश र स्थानीय तहबाटै खरिद गर्ने गरी बजेट विनियोजन भएकोमा सचिवस्तरीय निर्णयअनुसार आइरन चक्की विभागले खरिद गरेको छ । खरिद भएका आइरन चक्कीमध्ये २०८० फागुन मसान्तसम्म विभाग, पथलैया मेडिकल स्टोर र सातवटा प्रदेश आपूर्ति केन्द्रमा ६ करोड १५ लाख ७३ हजार (२८.८४ प्रतिशत) चक्की मौज्दात रहेको पाइएको थियो ।