काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफ्नो जीवनकालमा पहिलो पटक पूर्ण बजेट ल्याउँदै छन् । झण्डै १३ वर्ष अगाडी पनि अर्थमन्त्री भएका पुनले त्यति वेला बजेट ल्याउन पाएका थिएनन् ।
२०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भएका पुनले तरल राजनीतिका कारण २ पटक पूरक बजेट मात्र ल्याएका थिए । पुनले झन्डै १८ महिना अर्थमन्त्री हुँदा पनि पूर्ण आकारको बजेट ल्याउन सकेका थिएनन् ।
पूरक बजेटमार्फत उनले काममा हुने सरकारी ढिलासुस्तीलाई छरितो बनाउने, एकद्वार प्रणालीबाट वैदेशिक लगानी भित्र्याउने पहल गरे । पुनकै पालामा २१ ठूला परियोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखिएको थियो । ती आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।
तर यो पटक बजेट ल्याउन पाएका अर्थमन्त्रीले आफ्नो जीवनकालको पहिलो बजेटलाई निकै पपुलिस्ट बजेटको रूपमा परिचित गराउँदै छन् । १९ खर्ब हाराहारीमा बजेट ल्याउन लागेका पुनले विभिन्न लोकप्रिय कार्यक्रमहरू समेटेका छन् ।