कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ-मुख्यमन्त्री कँडेल « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ-मुख्यमन्त्री कँडेल


१२ जेष्ठ २०८१, शनिबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन् । उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताएका हुन् । 

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे । “२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्”, उनले भने, “आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।”

तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ । सीमित स्रोत साधनकैबीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ । उनले क्षमताअनुसार शासन चलाउन सङ्घीयता ल्याइएको तर अपेक्षाअनुसार काम गर्न नसक्दा जन आक्रोश बढिरहेको बताए। विगतमा दामासाहीले बजेट विनियोजन गर्ने प्रचलन भएको उनको धारणा थियो ।

“प्रदेशभरिकै विद्यार्थी वीरेन्द्रनगर केन्द्रित हुने, भौतिक संरचनादेखि सबै कुराको अभाव हुने अवस्था अब सुधार गर्ने प्रयास गर्छु”, उनले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस