हेटौंडा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई मजबुत बनाउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा हटौंडामा मंगलबार र बुधवार आयोजित दुई दिवसीय प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लामिछानेले स्थानीय प्रशासनको उपस्थितिले पीडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने बताए । प्रहरी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न कानून तर्जुमा लगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको उनले बताए ।
राजनीतिक आवरणमा गैर संवैधानिक र गैर कानूनी गतिविधि हुन नदिन, नागरिकहरूले आफूमाथि शोषण दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा ठगिएको महसुस नगर्ने गरी कार्य गर्न, विकास निर्माण र सेवा प्रवाहका काममा ढिला सुस्ती र अनियमितता हुन नदिन, धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव बिथोलिन नदिन सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिलाई गृहमन्त्री लामिछानेले निर्देशन दिए । आफूले कार्यभार सम्हालेको पछिल्लो २ महिनामा राजश्व चुहावट नियन्त्रणमा २० प्रतिशतले सुधार भएको र करिब ७०० बिघा अतिक्रमित जमिन साबिककै अवस्थामा फर्काइएको तथ्यले मेहनत गर्दा सुधार सम्भव छ भन्ने पुष्ट भएको उनले बताए ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नागरिकको हित अभिवृद्धि र सहज सेवा प्रवाहका लागि सबै तहका सरकारहरूले समन्वय तथा सहकार्य गर्नुपर्ने धारणा राखे । उनले सुरक्षाका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गरी विभिन्न आयामहरूमा ध्यान दिई नागरिकलाई शान्ति सुरक्षा र अमनचयन प्रदान गर्न निर्देशन दिए ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठलेले शान्ति सुरक्षा र सेवा प्रवाहलाई बढी भन्दा बढी नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । गृह सचिव एकनारायण अर्यालले जिल्लागत रूपमा भएका असल अभ्यासहरूलाई अन्य जिल्लाहरूले अवलम्बन गर्न निर्देशन दिए ।