काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ता र भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावमा आफूले मतदान नै नगरेको भन्दै उनले तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक नभएको भन्ने धारणा राखेको बताए । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ता र भागबण्डाको झगडा भएको टिप्पणी गरे ।
विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैले विश्वासको मत दिएका भन्दै उनले अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएका आरोप लगाए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए ।
‘पुँजीवादी पार्टीहरूको सत्ताको भागबन्डाको झगडा हो । देश र जनताको लागि होइन । पुष्पकमल दाहालले पहिलोचोटि विश्वासको मत दिँदा एमाले, काँग्रेस सबै मिलेर दिएकै हो, ‘उनले भने, ’अहिले के विषयमा झगडा भयो । भोलि मिलिहाल्छन् । त्यसैले हामीले हिजो पनि मत दिएनौँ । आज पनि मत दिएनौँ ।’