काठमाडौँ । सांसदहरूले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरूका बीचमा सहमति जुट्ने दाबी गरेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दलहरूका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने माग निरन्तर राख्दै आएको छ ।
यता सत्तारुढ दल छानबिन समिति बनाउन तयार देखिएको छैन । यसै कारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन । सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरूले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका हुन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडि बढ्ने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए । उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए ।
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री संसदीय छानबिन समिति गठनमा सकारात्मक देखिएको भए पनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए ।
उनले संसदीय छानबिन समिति गठनको सम्बन्धमा निर्क्योल निकालेर संसद् चलाउने बाटोमा जानुपर्ने आफूहरूको धारणा रहेको बताए । उनले सरकार संसदीय छानबिन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताए ।
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टी-स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौँ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताए । उनले सो प्रकरणको छानबिन गर्नुपर्ने र काँग्रेसका कोही दोषी भएमा कारबाही भोग्न तयार रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली काँग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए ।
उनले काँग्रेससँग सहमति भएर ४ बजेको संसद् खुल्ने दाबी गए । उनले सङ्कटग्रस्त सहकारीहरूको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिपक्ष दलले उठाएको कुराको सम्बोधन हुनुपर्ने बताए । उनले सरकारले समझदारी र समन्वय गरेर समस्याको हल गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले पनि ४ बजेसम्म सहमति जुट्नेमा आफू आशावादी रहेको बताए ।
संसद् बैठक स्थगित गरेर सभामुख तथा दलका नेताहरू आ-आफू संसद् खुलाउनका लागि छलफल तथा संवादमा लागेका छन् ।