संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित : ओली « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित : ओली


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर काँग्रेस लागेको बताए । काँग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’

सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने बताए । ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? बेथिति भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’

काँग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ । ‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’

गठबन्धन छाडेर आए डेढ वर्ष प्रधानमन्त्री बनाउने भनेर रविलाई प्रस्ताव गरेको र त्यसमा सहमत नभएपछि काँग्रेसले सहकारीको मुद्दा उठाएको ओलीको दाबी छ । ‘यस प्रकारका छुद्र खेल खेलिनुहुन्न ।

कसैलाई धक्का पर्‍यो भन्दैमा यस प्रकारको छानबिन गर्ने ?’ ओलीले अगाडि भने, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस