काँग्रेस सांसदहरूलाई रवि लामिछाने जोडिएको सुप्रिम सहकारीको अभियोग पत्र वितरण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस सांसदहरूलाई रवि लामिछाने जोडिएको सुप्रिम सहकारीको अभियोग पत्र वितरण


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको बुटवलस्थित सुप्रिम सहकारीको अभियोग पत्र वितरण गरेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दल बैठकमा लामिछाने जोडिएको सहकारीको अभियोग पत्र बाँडिएको हो।

सांसदहरूलाई उक्त अभियोजन पत्र राम्रोसँग अध्ययन गरी संसदमा धारणा राख्न संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।

सरकारी वकिल कार्यालयले रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरुद्ध कार्यालयले मुद्दा दर्ता गरेको हो।

अभियोग पत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका लामिछानेको नाम समावेश छ।

गृहमन्त्री लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनका नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रुपैयाँ पठाइएको उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस