नियामक निकायले चलाएको ‘असुली धन्दा’बाट आजित बनेको व्यवसायीको गुनासो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नियामक निकायले चलाएको ‘असुली धन्दा’बाट आजित बनेको व्यवसायीको गुनासो


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । मालदार(कमाउ) अड्डाका रुपमा कहलिँदै आएका केही विभागहरुको ‘असुली धन्दा’बाट आफूहरु आजित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । मुलुकमा आर्थिक सूशासन कायम गर्ने मात्रै होइन, अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने दुई ठूला विभागले चलाएको ‘असुली धन्दा’बाट आफूहरुले दुःख पाइएको उनीहरुको गुनासो छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका नाममा व्यवसायीहरुलाई बोलाएर धम्काउने र बार्गेनिङ गर्ने गरेको व्यवसायीहरुले गुनासो गरेका हुन् । केही महिना यता राजश्व अनुसन्धान विभागले आफूलाई दुःख दिएपछि माथिल्लो निकायमा निवेदनसमेत हालेको एक व्यवसायीको भनाई छ । ‘अन्धाधुन्ध छापा मारेर कागजात लगे’ ती व्यवसायीले भने, ‘पछि यतिमा मिल्छ भने ठीक छ हैन भने यति जरिवाना यति कैद भनेपछि हाम्रो म्यानेजर साप आत्तिदै फर्किनु भयो ।’

उनले अक्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत त्यसबारे आफूले निवेदन दिएको बताएका छन् । अख्तियार स्रोतका अनुशार व्यवसायीको उजुरी पछि आवश्यक छानविनका लागि राजश्व अनुसन्धान विभागबाट काजगात माग गरेर पत्राचार गरिसकिएको र अनुसन्धान भईरहेको छ ।

केही महिना अघि मात्रै उपत्यका बाहिरका केही जिल्लामा अनुगमनका लागि खटिएको टोलीले मनलाग्दी दर्जनौ व्यवसायीहरुको फार्ममा छापा मारेर कागजात ल्याएको र छानविनका नाममा व्यवसायीलाई बोलाएर मिलाएको आरोप अर्का व्यवसायीको छ । ‘मेरो साथीले के के गरेर बालबाल मिलाएर फुत्केछ, अब मलाई मेरो व्यवसाय भन्दा धेरै तिर्नुपर्छ भनेर देखाउँछ, मैले त्यो कहाँबाट सक्नु ?’ जिल्ला बाहिरका अर्का व्यवसायीले भने ।

त्यसैगरी सम्पत्ति शुद्धिकरण विभागले पनि झोलामा नक्कली उजुरी हालेर व्यवसायीहरुलाई बोलाउँदै धम्काउँदै गरेको व्यवसायीले बताएका छन् । विभाग नेतृत्वबाटै पुरानो सम्पत्तिको विवरण सबै देखाउनुपर्छ हैन भने थुन्दिन्छु भनेर आजित पारेको एक उद्यमीले बताए । ‘धेरै पहिलाको सबै सम्पत्तिको त रेकर्ड कहाँ भेटिन्छ र ? त्यसैको नाममा बोलाउने र अनावश्यक दुःख दिएर हैरान बनाएको छ कहाँ जाने ?’ उनले भने

पछिल्लो समय विभाग जान कर्मचारीहरुको ठूलो सोर्सफोर्स लाग्ने गरेको छ । अझ विभागीय नेतृत्वका लागि त निकै ठूलो शक्तिकेन्द्र भएन भने सम्भव नहुने घामजतिकै छर्लङ्ग छ । गफ सुशासनका हाक्ने कामजति कुशासन गर्न थालेपछि राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रियस्तरमासमेत नेपालको छवि धुमलिँदै गएको छ ।

राजश्व अनुसन्धान विभागमा महानिर्देशक नवराज ढुंगाना(केही दिन अघि मात्रै सरुवा भएका)ले त्यस्तो नभएको बताए । उनले पछिल्लो समय गल्ती भेटिएको अवस्थामा मुद्धा नै दर्ता गरेको भन्दै कसैले दुःख दिने गरेको र ब्यालमेलिङ गरेको छ भने कानून बमोजिम जान पर्ने भन्दै भेटिए कारवाही जिकीर गरे ।

सम्बन्धित समाचार : राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा, फर्किए ढुङ्गाना

त्यस्तै सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक पुष्पराज शाहीलाई पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् । पछिल्लो समय शाहीबारे व्यापारिक क्षेत्र मात्रै विभाग भित्रैसमेत कर्मचारीहरु असन्तुष्टि पोख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस