काठमाडौँ प्रशासनद्वारा ७ फार्मेसीको अनुगमन, ६ मापदण्ड विपरीत सञ्चालन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काठमाडौँ प्रशासनद्वारा ७ फार्मेसीको अनुगमन, ६ मापदण्ड विपरीत सञ्चालन


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौँले सातवटा फार्मेसीको अनुगमन गर्दा एक मात्रै मापदण्ड अनुरूप सञ्चालनमा भएको पाइएको छ ।

कार्यालयले तीन वटा अस्पतालका फार्मेसी र चार वटा अस्पताल आसपास रहेका फार्मेसीको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा चाबहिलस्थित ओम हस्पिटलभित्र सञ्चालित बिभु विस्त्रा फार्मेसीले अस्पताल फार्मेसी निर्देशिका बमोजिम सञ्चालन नगरेको पाइएको छ । त्यस्तै उक्त फार्मेसीले लागु तथा मनोदिपक औषधिको रेकर्ड नराखेको पनि कार्यालयले जनाएको छ ।

यसैगरी बल्खुस्थित बयोधा अस्पताल फार्मेसी र कलंकीको शहीद मेमोरियल अस्पताल फार्मेसीले तोकिएको मापदण्डमा औषधि र खोप सञ्चय नगरेको पाइएको छ । कार्यालयका अनुसार यी दुई फार्मेसीले २ देखि ८ डिग्री सेल्सियसभित्र राख्नुपर्ने खोप र औषधि तापक्रम सञ्चय नगरी राखेका थिए ।

त्यस्तै ओम अस्पताल आसपास सञ्चालित ओमतारा फार्मेसी, मिरोन फार्मेसी र कलश फार्मेसीमा पनि मापदण्डअनुसार औषधि नराखेको र औषधि व्यवस्था विभागद्वारा रोक लगाइएका औषधिसमेत राखेको पाइएको छ ।

अनुगमनका क्रममा चाबहिलस्थित अमन फार्मेसी मात्रै मापदण्डमा सञ्चालित रहेको जिप्रका काठमाडौँले जनाएको छ ।

कैफियत देखिएका फार्मेसीका सञ्चालकलाई जिप्रकाले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस