माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएका छन् ।  मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरू सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

५० मेगावाटको उक्त आयोजना प्रभावित मर्स्याङ्दी ३, ६, ७ र ८ वडाका बासिन्दा आफ्ना मागबारे निर्माण कम्पनीले सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले जल्गिनी-अर्खलेबेंसीसम्म सडक स्तरोन्नति संघर्ष समिति गठन गरेर मंगलबारदेखि आयोजनाको सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

आयोजनाले आफ्नो लागि निर्माण गरेको सडकका कारण स्थानीयवासिन्दा धुलोमैलोमा बस्न बाध्य भएको भन्दै सडक स्तरोन्नतिको माग गरेका छन् । समितिले सडक स्तरोन्नतिलगायत स्थानीयवासिन्दाको मागबारे सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताएको छ । आफ्ना माग र आन्दोलनबारे सिनो हाइड्रो सगरमाथा पावर कम्पनीलाई चैत २८ गते जानकारी गराउँदै प्रशासन, प्रहरी, स्थानीय तह, वडालगायतलाई जानकारी गराइसकेको र यसबीचमा कम्पनीले आफ्ना मागहरूलाई सम्बोधन गर्ने खालका कुनै पनि कार्य नगरेको स्थानीयको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस