काँग्रेसले भन्यो-नयाँ सरकार गठनबारे एमालेसँग छलफल भएको छैन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसले भन्यो-नयाँ सरकार गठनबारे एमालेसँग छलफल भएको छैन


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन् ।

बुधबार सिंहदरवारस्थीत काँग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा मुख्य सचेतक लेखकले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने विषयमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका हुन् ।

उनले अहिले नै आफूहरू वर्तमान सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको जिकिर गरे । साना दलहरू मिलेर सरकार बनाउँदा पटक पटक परिवर्तन भइरहने अवस्थामा ठुला दलहरू मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उब्जिएको उनले बताए । राजनीतिमा वार्ता संवाद निरन्तर भइरहने भए पनि अहिलेको समीकरणलाई भत्काउन काँग्रेसले हतारो नगर्ने उनको भनाइ छ ।

त्यस्तै, लेखकले सहकारी प्रकरणमा गृहमन्त्री मात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानबिन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका विषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए ।

लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई बेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसद्लाई प्रभावकारी रूपमा अघि बढाउने दायित्व सरकारको भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस