अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय बन्द « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय बन्द


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो ।

उपमहानगरपालिकाले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बिहीबार र शुक्रबार उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएको छ । अहिले गरिएको गर्मी बिदा वार्षिक बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको बताइएको छ ।

वैशाखको पहिलो सातादेखि नै बुटवल–भैरहवा क्षेत्रमा गर्मी बढ्दै गएको छ । पछिल्लो एक साताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ । बिहानैदेखि तातो हावा चल्ने गरेको छ । मङ्गलवार र बुधबार बुटवलमा ४२ र भैरहवामा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । सडकको धूलो धुवाँसँगै लामो समय पानी नपर्दा वायुमण्डल दूषित बन्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस