काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।
नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उनले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताइन्। मूलपुरमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताइन्।
मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन्।
‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उनले भनिन्।
नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उनले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताइन्।
