काठमाडौँ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बालुवाटारमा सत्ता र प्रतिपक्षी दलकाबीच भएको छलफल निष्कर्षविहीन सकिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा काँग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए।
उक्त छलफलमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारूढ दलहरूले संसदीय समितिको आवश्यकता नरहेको दाबी गरेका छन्। संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष तयार नदेखिएकोले बालुवाटारको छलफल समझदारीमा नपुगेको काँग्रेसका एक नेताले बताए।
काँग्रेसले सहकारी प्रकरणमा लाखौँ बचतकर्ता पीडित रहेकोले संसदीय समिति गठन गरेर छानबिन गरिनुपर्ने बताउँदै आएको छ। सभामुख घिमिरेले सोमबार पनि सिंहदरवारस्थित कार्यकक्षमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए।