काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताएका छन् ।
आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने प्रस्ताव दोहोर्याएका छन् । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।
‘स्थानीय तहलाई नचलाऔँ तर प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी छ, केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन, तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।
संविधानले सिंहदरवारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुँदा र रोजगारीका लागि विदेश पलायनले आम जनतामा निराशा छाएको सांसद भण्डारीले बताए ।