पीडकले जेल भित्रबाटै दिए बलात्कार पीडितलाई मार्ने धम्की, गृहले लियो एक्सन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पीडकले जेल भित्रबाटै दिए बलात्कार पीडितलाई मार्ने धम्की, गृहले लियो एक्सन


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । जबरजस्ती करणीमा दोषी करार भई कारागार चलान भएका तादी–४, नुवाकोटका पशुपति मैनालीले फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । 

हाल थुनामा रहेका मैनालीले जेलबाटै फोन गरेर ज्यान मार्ने धम्की दिने गरेको पीडित सिंहदरवार–८४ ले बताइन् । मैनालीले धम्की दिएपछि पीडितले प्रहरी वृत्त सिंहदरवारमा निवेदन दर्ता गराएकी छन् । उनले मैनालीविरुद्ध आवश्यक कारबाहीको माग गर्दै ज्यान जोगाइदिन  निवेदन दर्ता गराइएकी हुन् ।

काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार ७ वर्ष सजाय पाएका मैनालीलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जबरजस्ती करणी मुद्दामा न्यायाधीश कपिलमणि गौतमको फैसलाले सात वर्षको जेल सजाय सुनाएको थियो । 

मैनालीले २०७८ कार्तिक १५ मा बागबजारको एक गेस्ट हाउसमा जबरजस्ती करणी गरेका थिए । अश्लील भिडियो आफूसँग रहेको र त्यो डिलिट गर्दिन्छु भन्दै बागबजारमा बोलाएर मैनालीले कुटपिटसहित बलात्कार गरेको पीडितले जानकारी दिएकी छन् । पीडितको जाहेरीका आधारमा मैनाली १६ गते पक्राउ परे । 

थुनछेक बहसका क्रममा अदालतको आदेशले उनी २०७८ माघ ६ मा धरौटीमा छुटे । जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्दै गर्दा पिडक उच्च अदालत गए र माघ ६ गते धरौटीमा छुटे । तर, २०८० जेठ २६ मा सर्वोच्च अदालतको आदेशले मैनाली पुनः जेठ ३० गतेदेखि कारागारमा छन् । 

सिंहदरवार–८४ ले डिल्लीबजार कारागारको नम्बर ९७६२८७५४६७ बाट आफूलाई मैनालीले मार्ने धम्की दिएको भन्दै २०८० चैत ९ मा प्रहरी वृत्त सिंहदरवारमा निवेदन दिएकी थिइन् । चैत ९ मा दिएको निवेदन चैत १४ मा प्रहरीमा दर्ता भएको उनले प्रशासन डटकमलाई जानकारी दिइन् । आफै निवेदन लिएर कारागार पुगेको उनले बताइन् ।

निवेदन परेपछि गृह प्रशासनले यसबारे छानबिन गरेको छ । छानबिन पश्चात् मैनालीले जेलबाट पीडितलाई फोन गरेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्रशासनका अनुसार मैनालीलाई शुक्रबार नै डिल्लीबजार कारागारबाट काठमाडौँ उपत्यका बाहिर सारिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस