इटहरी उपमहानगरद्वारा अवैध संरचना भत्काउन सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

इटहरी उपमहानगरद्वारा अवैध संरचना भत्काउन सुरु


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ।

उप महानगरले इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको हो ।

खोलाको राइट अफ वे मिचेर बनाएका संरचना भत्काएर जग्गा खाली गर्न लागेको उपमहानगरले जनाएको छ । यस अघि इटहरी उपमहानगरले खोला र पैनी मिचेर बनाएका संरचना भत्काउन सूचना जारी भएको थियो ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ । जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्।

अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय बस्तीमा बस्नेलाई जोगाउन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको जनाइएको छ ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस