कार्यकक्षबाटै पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत धरौटीमा छुटे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यकक्षबाटै पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत धरौटीमा छुटे


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। कार्यकक्षबाटै पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली धरौटीमा छुटेका छन् ।

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पुर्पक्षका थुनामा राख्ने कास्की जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यकक्षमै रहेका बेला गत पुस ११ गते पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी, सहकारीको रजिष्ट्रार हुँदा १ करोड बढी घुस लिएको आरोप

पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउन आदेश

सहकारीको शाखा विस्तारका क्रममा कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

बयानपछि पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस