अब प्रत्येक महिना सय मेगावाट विद्युत् उत्पादन हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब प्रत्येक महिना सय मेगावाट विद्युत् उत्पादन हुने


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावाट विद्युत् उत्पादन हुने दाबी गरे ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री बस्नेतले देश खत्तम भयो, विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए । व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापना पछि सकारात्मक परिवर्तनहरू भइरहेको बताएका उनले ऊर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगति भएको उल्लेख गरे । 

१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भइरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट ऊर्जा उत्पादन हुने दाबी गरे । 

बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावाट विद्युत् पुर्‍याउँदै छौं । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ ।’

नेपालमा ऊर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै ऊर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित ऊर्जा उत्पादनको तथ्यले पनि देश बर्बादितिर भन्दा निर्माणतिर गइरहेको बताए । उनले आगामी १२ वर्षमा २८ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे ।

‘हामी २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौं आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हाँसिल हुन्छ ’ मन्त्री बस्नेतले भने ।

प्रत्येक १ हजार मेगावाट विद्युत् देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस